प्रेस विज्ञप्ति २०७३ साल बैशाख २०

आदरणीय पत्रकार मित्रहरु,

नेपाली क्रिकेटको वर्तमान अवस्थाबारे धारणा सार्वजनिक गर्ने उद्देश्यसाथ राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको आजको यस पत्रकार सम्मेलनमा उपस्थित पत्रकार मित्रहरुलाई सर्वप्रथम कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु ।
पत्रकार मित्रहरु,
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको खबरले सबैलाई दुखी तुल्याएको छ । राष्ट्रिय खेलकुद परिषद्ले पनि यस घटनालाई गम्भीर रुपमा लिएको छ । तथापी आईसीसीले क्यान निलम्बनको औपचारिक जानकारी राष्ट्रिय खेलकुद परिषद्लाई गराएको छैन । सार्वजनिक माध्यममा आएअनुसार आईसीसीले अदालतमा परेको मुद्दा तथा निष्पक्ष र स्वतन्त्र निर्वाचनलाई मुख्य आधार बनाएर क्यान निलम्बन गरेको छ । उसले सरकारको हस्तक्षेप स्वीकार्य नहुने पनि भनेको छ ।

हाल आईसीसीले औपचारिक रुपमा क्यान निलम्बन गर्ने निर्णय लिएपनि करिब दूई वर्ष अघिदेखि नै क्यान अघोषित रुपमा निलम्बन सरहको अवस्थामा रहेको कुरा सबैलाई जानकारी भएकै हो । क्यान भित्रको अपरादर्शिता, कानुन र विधि मिच्ने जस्ता गैरजिम्मेवारीपन क्रियाकलापका कारण आईसीसीले करिब दुई वर्षदेखि नै क्यानलाई दिने अनुदान रोक्का गर्दै आएको छ ।

अबको सन्दर्भमा क्रिकेटको भविष्यका निम्ति आपसी विवाद र व्यक्तिगत महत्वकांक्षा त्यागेर अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ । क्रिकेटको विकासका लागि सबै पक्षलाई एकै स्थानमा ल्याएर विवाद समाधान गर्नका लागि राष्ट्रिय खेलकुद परिषद्ले पहल सुरु गरिसकेको छ ।

राखेप जहिले पनि संघ पारदर्शी, विधिसम्मत र संस्थागत रुपमा संचालन भएको हेर्न चाहन्छ । यसको पालना सबै पक्षबाट हुनुपर्छ ।
आइसीसीको निर्णयबाट सबै पक्षले ज्ञान लिँदै हातेमालो गरेर अगाडि बढ्नुपर्ने कुरामा म जोड दिन चाहन्छु र सम्बन्धित सबै पक्षलाई समस्या समाधानका लागि भूमिका निर्वाह गर्न आग्रह समेत गर्दछु ।
क्यानसम्बन्धी अदालतमा मुद्दा विचाराधिन छ । अदालतमा विचाराधिन रहेको मुद्दालाई हामीले चाहेर पनि केही गर्न सक्ने अवस्था रहँदैन ।

त्यस कारण तत्काल समस्या समाधानका लागि सम्बन्धित पक्षले अदालतबाट मुद्दा फिर्ता लिएर विवाद मिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । साथै सम्पूर्ण खेलाडी, क्रिकेट प्रेमीमा उत्साह बढ्ने गरी एकताबद्ध भई अगाडि बढ्नका लागि समेत आग्रह गर्न चाहन्छु ।
सबै पक्षले तिक्ततालाई त्यागेर संघलाई नयाँ शिराबाट शुरु गर्नका लागि यो अवसर पनि हो । हिजोका गल्ती कमजोरीबाट पाठ सिक्दै आ–आफै आत्मसमीक्षा गरेर क्रिकेट खेलको विकासका लागि सहकार्य र सहमतिको बाटो अवलम्बन गर्नुको विकल्प छैन । त्यसका लागि सबैले आफ्नो हठ त्याग गर्दै हातेमालो गर्नका लागि राखेप अनुरोध समेत गर्दछ । धन्यवाद ।

केशवकुमार विष्ट
सदस्य–सचिव
राष्ट्रिय खेलकुद परिषद्
मिति २०७३ साल बैशाख २० गते ।


समाचार / गतिबिधि View All

Upcoming Events View All