सदस्य सचिवको संयोजकत्वमा उच्चस्तरीय समिति

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको स्थायी पदपूर्ति तथा बढुवासम्बन्धी समस्या समाधान गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टको संयोजकत्वमा स्थायी पदपूर्ति तथा बढुवासम्बन्धी उच्चस्तरीय समस्या समाधान समिति गठन गरिएको छ । सात सदस्यीय समितिमा युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि, परिषदका कानुनी सल्लाहकार ओमप्रसाद थपलीया, खेलकुद बिकास विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक अर्जुन वि.क. परिषद कर्मचारी संघका अध्यक्ष रञ्जन थापा र अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संघर्ष समितिका संयोजक काजिमान श्रेष्ठ सदस्य रहेका छन् ।
परिषद्मा कार्यरत स्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको स्थायी पदपूर्ति तथा बढुवाका लागि परिषद्बाट पटक पटक निर्णय र पहल हुँदा समेत सम्बन्धित निकायहरुबाट सो को कार्यान्वयन तथा समस्या समाधान नभएको अवस्थामा परिषद्मा कार्यरत कर्मचारीहरुको स्थायी पदपूर्ति तथा बढुवा सम्बन्धी समस्या समाधान गरी टुङ्गोमा पुरयाउनका लागि उच्चस्तरीय समिति गठन गरिएको हो । सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि समितिलाई ३ महिनाको समयवधी तोकिएको छ ।
कर्मचारीका समस्या समाधानका लागि परिषद्ले लामो समय देखि प्रशासन, प्रशिक्षण एवं प्राविधिक समूहका विभिन्न पदमा करार तथा मासिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुको स्थायी पदपूर्तिका लागि परिषदको बैठकबाट पटक पटक निर्णय समेत हुंदै आएको हो । त्यस्तै परिषद्का कर्मचारीहरुको दरवन्दिका विषयमा युवा तथा खेलकुद मन्त्रालयकै अगुवाईमा संगठन तथा ब्यवस्थापन सर्वेक्षण (O & M Survey) समेत गरि सोको प्रतिवेदन युवा तथा खेलकुद मन्त्रालयमा समेत बुझाई सकेको छ ।
हालै भएको परिषदको बोर्ड बैठकबाट निर्णय गराई १ हजार जना कर्मचारीहरुको दरवन्दि विवरण र कर्मचारी सेवा सर्त सम्वन्धि नियमावली २०६८ मा समय सापेक्ष रुपमा करार तथा ज्यालादारी कर्मचारीहरुको प्रकृती अनुसार संसोधन गरि कार्यान्वयनका लागि युवा तथा खेलकुद मन्त्रालयमा समेत पठाई सकिएको परिषदका प्रेष सल्लाहकार रोहित दाहालले जानकारी गराए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *