तेक्वान्दो ः आर्मीलाई सर्वाधिक ९ स्वर्ण

नेपाल आर्मीले राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार सर्वाधिक ९ स्वर्ण जितेको छ । दक्षिण एसियाली खेलकुदकी दोहोरो स्वर्ण विजेता एवं छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुने पहिलो नेपाली खेलाडी संगीना वैद्यको प्रशिक्षणमा रहेको आर्मीले गेरोगीमा ७ स्वर्ण, ५ रजत र ३ कांस्य जित्यो भने पुम्सेमा २ स्वर्ण, २ रजत र १ कांस्य हात पा¥यो ।
दोश्रो स्थानमा रहेको नेपाल प्रहरी क्लबले गेरोगीमा ६ स्वर्ण, ४ रजत र ३ कांस्य जित्यो । पुम्सेमा प्रहरीले २ स्वर्ण, १ रजत र २ कांस्य प्राप्त ग¥यो । नेपाल एपीएफ क्लबले तेश्रो स्थानमा चित्त बुझायो । गेरोगीमा २ स्वर्ण, ३ रजत र ३ कांस्य जितेको एपीएफले पुम्सेमा १ स्वर्ण र २ कांस्य हासिल ग¥यो । विभागीय टिम बाहेक गेरोगी र पुम्सेमा मध्यमाञ्चल र पूर्वाञ्चलका १–१ खेलाडीले स्वर्ण जिते । गेरोगीको पुरुष ८७ केजीमा मध्यमाञ्चलका भुपेन श्रेष्ठ र महिला पुम्सेको २० वर्षमुनि पूर्वाञ्चलकी सिना मादेनले आ–आफ्नो क्षेत्रलाई स्वर्णविहीन हुनबाट जोगाए ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा भएको प्रतियोगिताको गेरोगीतर्फ पुरुषमा १२ औं सागका रजतधारी प्रहरीका वीरबहादुर महरा तथा महिलामा एपीएफकी अस्मिता खड्का उत्कृष्ट खेलाडी चुनिए ।
वीरबहादुरले ६३ केजीमुनि स्वर्ण जिते । प्रतियोगिताको अन्तिम दिन स्वर्ण जितेकी अस्मिताले ४९ केजीमुनि फाइनलमा आर्मीकी काजल श्रेष्ठलाई समग्रमा १२–६ अंकले पराजित गरिन् । पहिलो राउन्डमा अस्मिता अंकविहीन बन्दा प्रतिद्वन्द्वी काजलले १ अंक जोडिन् । दोश्रो राउन्ड अस्मिताले ६ अंक जोडिन् भने काजल शून्यमा रहिन् । २ मिनेटको प्रत्येक राउन्डको अन्तिम तथा तेश्रो राउन्डको खेल सकिन ४८ सेकेन्ड बाँकी छँदासम्म खेल ६–६ को बराबरीमा थियो । अन्तिम राउन्डमा अस्मिता ६–५ ले अगाडि रहिन् ।
पुम्सेको पुरुष्मा एपीएफका नवीन श्रेष्ठ तथा महिलामा आर्मीकी निता गुरुङ उत्कृष्ट ठहरिए । नवीनले १६ वर्षमुनि र निताले २० वर्षमाथि स्पर्धामा स्वर्ण चुमे । उत्कृष्ट चारैले जनही ५ हजारका दरले नगद पुरस्कार पाए ।
अन्तिम दिन महिला ४९ केजीमुनि बाहेक अन्य चार स्पर्धाको फाइनल पनि भएको थियो । महिलाको ५३ केजीमुनि १२ औं सागकी रजत विजेता प्रहरीकी निमा गुरुङले पहिलो स्थान हात पारिन् । निमाले फाइनलमा पूर्वाञ्चलकी सन्ध्याकुमारी सिंहलाई हराइन् । ४६ केजीमुनि आर्मीकी कल्पना चौधरीले स्वर्ण जितिन् । कल्पनाले प्रतियोगिताकै अन्तिम फाइनलमा पश्चिमाञ्चलकी सरिता श्रेष्ठलाई २९–२३ ले पाखा लगाइन् । दोश्रो राउन्डको खेल समाप्तिसम्म दुवै २१–२१ को समान स्थितिमा थिए । तेश्रो राउन्डमा कल्पनाले ८–२ को अग्रता बनाउदै स्वर्ण पक्का गरिन् । पहिलो राउन्डमा कल्पना १३–७ ले अघि थिइन् भने दोश्रोमा ८–१४ ले पछि परेकी थिइन् ।
पुरुष ५८ केजीमुनि आर्मीका सागर गुभाजु र ५४ केजीमुनि प्रहरीका अनोज मल्ल पहिलो भए । फाइनलमा सागरले मध्यमाञ्चलका कपिल थापा र अनोजले एपीएफका चन्द्र राणा मगरको चुनौती समाप्त पारे ।
विजेतालाई स्वस्थ्य मन्त्री दीपक बोहरालगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । तीनदिने प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय टोलीका १ सय ७६ खेलाडीले गेरोगीमा १६ र पुम्सेमा ६ गरी विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेको नेपाल तेक्वान्दो संघले जनाएको छ । राष्ट्रिय तेक्वान्दोको समापनसंगै राखेप च्याम्पियनसिपअन्तर्ग उपत्यकामा तय भएको सम्पूर्ण प्रतियोगिता सम्पन्न भएका छन् ।


समाचार / गतिबिधि View All

Upcoming Events View All