Press Release : Cricket

प्रेस विज्ञप्ति
काठमाडौं, फागुन ४ गते ।
नेपाली क्रिकेट टोली आफ्नै पौरखले छनोट चरण पार गर्दै आईसीसी विश्व क्रिकेट लिग डिभिजन एकमा उक्लन सफल भएको छ । नामिबियामा बिहीबार सम्पन्न डिभिजन दुई प्रतियोगितामा एकदिवसीय विश्वकप समेत खेलिसकेका क्यानाडा, संयुक्त अरब इमिरेट्स (यूएई) र केन्याजस्ता बलिया प्रतिद्वन्द्वीलाई हराउँदै नेपाली टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने एकदिवसीय विश्वकप क्रिकेटको अन्तिम चरणको छनोटमा स्थान बनाउन पनि सफल भएको छ ।

हाम्रा क्रिकेट खेलाडीले हासिल गरेको यो सफलता समग्र राष्ट्रकै लागि गौरवको विषय हो । यो सफलतासँगै हाम्रा खेलाडीले खेलकुद भनेको राष्ट्रको गौरव बढाउने सशक्त माध्यम हो भन्ने कुरा फेरि एकपटक प्रमाणित गरेर देखाएका छन् । पक्कै पनि यसका लागि खेलाडीसँगै नेपाली टोलीका प्रत्येक सदस्य मुरीमुरी धन्यवादका पात्र हुन् ।

विदेशी भूमिमा पसिना बगाएर राष्ट्रको गौरव बढाउने खेलाडीमात्र होइन, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको कठिन अवस्थामा पनि खेलाडीको हौसला मर्न नदिई घरभित्र क्रिकेटको वातावरण जीवन्त राख्ने समर्थक, शुभचिन्तक र सञ्चारकर्मीहरु पनि यो बधाईको उत्तिकै हकदार हुन् भन्ने हाम्रो ठम्याई छ ।

यसैगरी हाम्रा खेलाडीलाई ब्यस्त बनाइराख्न निरन्तर साना÷ठूला प्रतियोगिताहरु आयोजना र प्रायोजन गरेर उत्साह थप्ने विभिन्न संघ÷संस्था, कर्पोरेट हाउस, औद्योगिक घराना र ब्यापारिक प्रतिष्ठान पनि धन्यवाद र बधाइका पात्र हुन् ।

पक्कै पनि क्यान निलम्बनमा रहेको यो प्रतिकल परिस्थितिमा हाम्रो अबको यात्रा झन कठिन र चुनौतीपूर्ण छ । आगामी मार्चमा जिम्बाब्बेमा आयोजना हुने विश्वकपको अन्तिम चरणको छनोटमा हामी सामू अझ बलिया प्रतिद्वन्द्वी हुनेछन् । त्यो छनोट खेलमा हामीले विश्वकपको पूर्वविजेतादेखि लिएर टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिजसँगै जिम्बाब्बे, आयरल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्स, स्कटल्यान्ड, पपुवा न्युगिनी, हङकङ र यूएईको चुनौती सामना गर्नु पर्नेछ । यीमध्ये अधिकांश राष्ट्रले यसअघि नै एकदिवसीय विश्वकपको अनुभव पनि बटुलिसकेका छन् ।

यस्तो अवस्थामा हामीसँग आफ्ना खेलाडीको मनोबल बढाउनु र अझ स्तरीय प्रशिक्षणको ब्यवस्था गर्नुको विकल्प छैन । छनोट प्रतियोगिताका लागि हामीसँग करिब एक महिनाको छोटो समय बाँकी रहे पनि हाम्रा खेलाडीलाई स्तरिय तयारीको वातावरण बनाउन राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो क्षमताले भ्याएसम्मको प्रयास गर्ने विश्वास दिलाउन चाहन्छु । यतिबेला हाम्रा खेलाडीले हासिल गरेको महत्वपूर्ण उपलब्धिलाई गुम्न नदिन र नेपाली क्रिकेटलाई यो भन्दा पनि अझ ठूला उपलब्धि हासिल गर्ने दिशामा अगाडि बढाउन परिषद्ले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्न चाहन्छु ।
धन्यवाद ।

केशवकुमार विष्ट
सदस्य सचिव


समाचार / गतिबिधि View All

Upcoming Events View All