प्रेस विज्ञप्ति

जिम्बाबेमा जारी विश्व कप छनोट प्रतियोगितामा नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनीलाई पराजित गर्दै एक दिवसीय मान्यता प्राप्त गरी ऐतिहासिक सफलता प्राप्त गरेकोमा सर्वप्रथम नेपाली टोलीलाई हार्दिक बधाइ दिन चाहन्छु ।
हाम्रा खेलाडीले उत्कृष्ट भनिएका राष्ट्रलाई पटक पटक हराएर इतिहास रच्दै आएका छन् । फेरि एक पटक नेपाली क्रिकेट टोलीको यो सफलताले नेपाली खेलकुद र क्रिकेट क्षेत्र मात्र नभइ सिंगो राष्ट्रले गर्वको अनुभुति गरेको छ ।
नेपालले आधिकारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन थालेको २२ वर्ष पुगेको छ । २२ वर्षको अवधिमा नेपाली क्रिकेटले हासिल गरेको यो सबैभन्दा ठूलो सफलता हो ।
हाम्रा क्रिकेट खेलाडीले हासिल गरेको यो सफलता समग्र राष्ट्रकै लागि गौरवको विषय हो । यो सफलतासँगै खेलकुद भनेको राष्ट्रको गौरव बढाउने सशक्त माध्यम हो भन्ने कुरा हाम्रा खेलाडीले फेरि एकपटक प्रमाणित गरेर देखाएका छन् । पक्कै पनि यसका लागि खेलाडीसँगै नेपाली टोलीका प्रत्येक सदस्य धन्यवादका पात्र हुन् ।

विदेशी भूमिमा पसिना बगाएर राष्ट्रको गौरव बढाउने खेलाडीहरु त महान नै छन् । साथै, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको कठिन अवस्थामा पनि खेलाडीको हौसला मर्न नदिई घरभित्र क्रिकेटको वातावरण जीवन्त राख्ने समर्थक, शुभचिन्तक र सञ्चारकर्मीहरु पनि बधाईको उत्तिकै हकदार छन् ।

यस अवसरमा निरन्तर साना÷ठूला प्रतियोगिताहरु आयोजना र प्रायोजन गरेर खेलाडीहरुमा उत्साह थप्ने विभिन्न संघ÷संस्था, कर्पोरेट हाउस, औद्योगिक घराना र ब्यापारिक प्रतिष्ठानलाई पनि धन्यवाद दिन चाहन्छु ।

यस्तो अवस्थामा हामीसँग आफ्ना खेलाडीको मनोबल बढाउनु र अझ स्तरीय प्रशिक्षणको ब्यवस्था गर्नुको विकल्प छैन । यतिबेला हाम्रा खेलाडीले हासिल गरेको महत्वपूर्ण उपलब्धिलाई गुम्न नदिन र नेपाली क्रिकेटलाई योभन्दा पनि अझ ठूला उपलब्धि हासिल गर्ने दिशामा अगाडि बढाउन परिषद्ले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्न चाहन्छु ।
यो ऐतिहासिक सफलताका लागि खेलाडीलाई पुनः बधाइ दिदै खेलाडीको मनोबल उच्च बनाइ राख्न परिषद्ले कुनै कसर बाँकी नराख्ने पनि जानकारी गराउन चाहन्छु ।
धन्यवाद ।

केशव कुमार विष्ट
सदस्य सचिव
राष्ट्रिय खेलकुद परिषद्
मिति २०७४ साल चैत २ गते


समाचार / गतिबिधि View All

Upcoming Events View All