ताराले गरिन् किर्तिमानमा सुधार

नेपाल पुलिसकी तारादेवी पुनले ७५ केजी तौल समूहमा आफ्नै नाममा रहेको राष्ट्रिय किर्तिमानमा सुधार गरेकी छिन् । उनले काठमाण्डौ जिल्ला भारोत्तोलन संघद्वारा आयोजित प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका दौरान स्नाच, क्लिन एण्ड जर्क र कुलको किर्तिमानमा सुधार गरेकी हुन् । पुनले स्नाचमा ६८ केजी, क्लिन एण्ड जर्कमा ९६ केजी र कुलमा १६४ केजीको नयाँ किर्तिमान बनाएकी हुन् । यस अघि उनकै नाममा स्नाचमा ६७ केजी, क्लिन एण्ड जर्कमा ९५ र कुलमा १६२ केजीको किर्तिमान कायम थियो । उनले सो किर्तिमान २०७० सालमा बिरगंजमा भएको प्रथम शालिमार खुला भारोत्तोलन च्याम्पियनसिपमा राखेकी थिईन् ।
यस स्पर्धामा नेपाली सेनाकी उषा खड्काले कुल १३९ केजी भारबहन गर्दै रजत र सेनाकै मन कुमारी कुमालले १३० केजी भारका साथ कास्य पाए । यस्तै सोही तौलको जुनियर तर्फ लाखे फिजिकल फिटनेशकी जयन्ति श्रेष्ठले ९० केजी भारका साथ स्वर्ण पाईन् ।
यस्तै पुरुष तर्फको १०५ केजी माथीको तौलमा नेपाली सेनाका पुकार गुरुङ्गले स्नाचमा आफ्नै नाममा रहेको १२६ केजीको किर्तिमानमा सुधार गर्दै १२७ केजी भार बहनका साथ नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका छन् । उनले २०१७ मा ईरानको अहवाजमा भएको तेश्रो एफएजेआर कप आमन्त्रण भारोत्तोलन च्याम्पियनसिपमा १२६ केजीको किर्तिमान राखेका थिए । उनले क्लिनमा १४० केजी भारका साथ कुलमा २७६ केजीका साथ स्वर्ण हात पारे । दोश्रो स्थानमा भृकुटी टोल सुधार युवा क्लबका राजीव महर्जनले कुल २०८ केजीका साथ रजत र दीप ज्योती क्लबका सुभाष उपाध्यायले १९७ केजी तौलका साथ कास्य पाए ।
राष्ट्रिय किर्तिमान कायम गर्ने प्रत्येक खेलाडीले प्रत्येक किर्तिमान बापत नगद एक हजार समेत प्राप्त गरे ।
ललितपुरस्थित स्पोर्टस् हाईवमा भएको प्रतियोगिताको महिला ६३ केजी तौलमा नेपाली सेनाका मनिता श्रेष्ठ र सारदा चौधरीले स्वर्ण र रजत पाए । मनिताले १३६ र चौधरीले १३० केजी कुल भार बहन गरेका थिए । महिलाकै ६९ केजी सिनियर तर्फ नेपाल प्रहरीका राज लक्ष्मी थापा र जानकी बुढाले स्वर्ण र रजत पाए । थापाले कुलमा १५० केजी र बुढाले ११६ केजी भार बहन गरे । जुनियर तर्फ चितवन फिजिकल फिटनेशकी पुजा कुमालले ७० केजी भारका साथ स्वर्ण पाईन् ।
९० केजी तौलमा नेपाल पुलिसकी लक्ष्मी बनले कुलमा १४९ केजीका साथ धनगढी युवा क्लबकी ज्योती चौधरीलाई पछि पार्दै स्वर्ण पाईन् । ज्योतीले १०० केजी भार बहन गर्दै रजत पाईन् । जुनियर तर्फ नेपाल ब्यायाम मन्दिरकी विद्या राईले ८० केजी भारका साथ स्वर्ण पाईन् ।
खेडीहरुको मुख्य उत्पादन थलो क्लब तथा फिटनेश सेन्टर भएकाले क्लब स्तरबाटनै खेलाडी उत्पादन गर्ने र युवाहरुलाई भारोत्तोलन खेल प्रति आकर्षण गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताको पुरुष ६९ केजी सिनियर तर्फको खेलमा ओलम्पियन तथा साग स्वर्ण पदकधारी नेपाली सेनाका कमल बहादुर अधिकारीले स्वर्ण पाए । राष्ट्रिय किर्तिमानको लक्ष सहित प्लेटफर्ममा उत्रेका अधिकारीले कुलमा २५७ केजी भार बहन गरे । दोश्रो भएका एपिएफका महेश चौधरीले १९९ केजी र तेश्रो भएका सेनाका जीवन तामाङ्गले १७२ केजी भार बहन गरे । जुनियर तर्फ फिटनेश तथा अर्डरका प्रकाश के.सी.ले कुल २२५ केजीका साथ स्वर्ण तथा बिरगंज युनाईटेडका निरज गुप्ताले ११५ केजीका साथ रजत पाए । ७७ केजी तौलमा नेपाल प्रहरीका बिकास थापाले स्वर्ण जिते । उनले प्रहरीकै ओम प्रकाश बैश्यलाई पछि पारे । थापाले कुलमा २४७ केजी र बैश्यले २१९ केजी भार उचाले । तेश्रो स्थानमा रहेका सेनाका यज्ञबहादुर सारुले २१३ केजी उचाले । जुनियर तर्फ फिटनेश एण्ड अर्डरका सुरज बैश्यले १७६ केजी उचाल्दै स्वर्ण हात पारे ।
अशोक फिटनेश ईक्विपमेण्ट र हेल्थ ट्याक फिटनेश ईक्विपमेण्टको प्रायोजनमा भएको प्रतियोगिताको पुरुष ८५ केजी तौल समूहमा नेपाली सेनाका सुरेन्द्र श्रेष्ठले कुलमा २२६ केजी भारका साथ स्वर्ण पाए । दोश्रो स्थानमा रहेका सेनाकै दिनेश कार्कीले २०३ केजी र तेश्रो स्थानमा रहेका एपिएफका तिलक थापाले १८० केजी भार बहन गरे । जुनियर तर्फ दीपज्योती क्लबका बिशाल सिंह बिष्टले कुलमा २१७ केजीका साथ स्वर्ण हात पारे ।
पुरुषकै ९४ केजी तौल समूहमा नेपाल प्रहरीका गगन चन्दले २२१ केजीका साथ स्वर्ण, एपिएफका सुजन बि.क.ले १६७ केजीका साथ रजत र ओम फिटनेशका अरविन्द गुप्ताले १६० केजीका साथ कास्य पाए । जुनियर तर्फ द पेम्बा क्लबका जयदीप कोजुले १८४ केजीका साथ स्वर्ण र ओम फिटनेशका सदव अमिन सिद्धिकीले १६० केजीका साथ रजत पाए ।
१०५ केजी तौल समूहमा नेपाल प्रहरीका सन्देश गुरुङ्गले बिरगंज युनाईटेडका मोहम्मद आशिक हुसेनलाई पछि पार्दै स्वर्ण हात पार्न सफल भए । गुरुङ्गले २४८ केजी र हुसेनले २०० केजी भार बहन गरे । नेपाली सेनाका विनोद खड्काले १८७ केजीका साथ कास्य पाए । जुनियर तर्फ दीपज्योती क्लबका सागर भण्डारीले २०३ केजी भार बहनका साथ स्वर्ण र ओम फिटनेशका रोशन बि.सी.ले १५० केजीका साथ रजत पाए ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डन, महासचिव पार्थ सारथी सेन गुप्त लगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा आयोजक काठमाण्डौ जिल्ला भारोत्तोलन संघका अध्यक्ष विजेन्द्र विक्रम शाहले प्रमुख अतिथीलाई मायाको चिनो प्रदान गरेका थिए ।


समाचार / गतिबिधि View All

Upcoming Events View All