उपराष्ट्रपति चिल्ड्रेन गेम्स भोलिदेखि
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्स बिहीबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुँदैछ ।
केन्द्रीयस्तरको यो प्रतियोगितामा एथलेटिक्स, कराते, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख एवं प्रतियोगिता व्यवस्थापन समितिका सचिव मीनकुमार शर्माले जनाएका छन् । छात्र÷छात्रातर्फ एथलेटिक्समा समान ५÷५, कराते र तेक्वान्दोमा समान ४÷४ तथा उसुमा समान ३÷३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । शर्माका अनुसार प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगितामा ७ प्रदेशबाट ४६ का दरले ३ सय २२ खेलाडीको सहभागिता रहने छ । उसु बाहेक सबै खेलको प्रतिस्पर्धा लगनखेलस्थित केन्द्रमा हुनेछ । उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा खेलाइने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३९ लाख ८५ हजार रुपैयाँ खर्च हुनेछ । शुक्रबारसम्म चल्ने प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम छ ।
इन्साइट भिजन कप शनिबारदेखि
द इन्साइट भिजन कलेजको आयोजनामा प्रथम इन्साइट भिजन कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइजतर्फ ५० र गल्र्समा २४ टिमको सहभागिता रहने इन्साइट भिजनका चेयरम्यान रामकृष्ण सिम्खडाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । २०७४ मा एसईई दिएर बसेका विद्यार्थीले प्रतियोगितामा सहभागी हुन पाउने प्रावधान छ ।
प्रतियोगितामा पहिलो र दोश्रो हुने टोलीका सम्पूर्ण खेलाडीलाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रबृत्ति प्रदान गर्ने कलेजका प्रिन्सिपल भीमकुमार श्रेष्ठले बताए । त्यस बाहेक प्रथम हुने टोलीलाई समान ५–५ हजार नगद पुरस्कार पनि दिइने छ ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा हुनेछ । फाइनल सोमबार हुनेछ ।

समाचार / गतिबिधि View All

Upcoming Events View All