तीन बिभागीय टोलीसहित प्रदेश ५ सेमिफाइनलमा
एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन बिभागीय टोलीहरु त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिससहित प्रदेश नम्बर ५ ले सेमिफाइनलमा स्थान बनाए ।
टियु क्रिकेटम मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा प्रदेश ५ लाई ७ विकेटले हराउँदै नेपाल पुलिस समूह बीको विजेताका रुपमा सेमिफाइनलमा पुग्यो । पराजयका बाबजुद प्रदेश ५ पनि सेमिफाइनलमा पुगेको छ ।
समूह ए बाट आर्मी र एपीएफ क्रमसः समूह विजेता र उपविजेता हुँदै सेमिफाइनलमा पुगिसकेका छन् ।
शुक्रबारदेखि सुरु हुने सेमिफाइनल खेलहरुमा समूह ए को विजेता आर्मीले समूह बीको उपविजेता प्रदेश नम्बर ५ सँग तथा समूह ए को उपविजेता एपीएफले समूह बीको विजेता नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।
बुधबार टियू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ५ ले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २०० रनको मध्यम योगफल बनाएको थियो । उसका लागि शंकर रानाले ४४, शौरभ खनालले ४२ ,राजबीर सिंहले २१ र सन्दीप सुनारले २० रन बनाए । त्यस्तै कृष्ण कार्कीले २६ रन बनाए ।
बलिङतर्फ पुलिसका ललित राजबंशीले २ बिकेट लिए ।
२०१ रनको लक्ष्य पुलिसले दिपेन्द्र सिंह ऐरीको अविजित अर्धशतकको सहयोगमा ४४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । सुस्त सुरुआत गरेको पुलिसका ऐरी र आरिफ शेखले चौथो विकेटका लागि १०४ रनको अविजित शतकीय साझेदारी गरेपछि सहज जित हासिल गरेको हो । ऐरीले ५३ बलमा ३ छक्का र २ चौकाको सहयोगमा ५८ रन बनाउँदा शेखले ५१ बलमा ३ छक्का र २ चौकाको सहयोगमा अविजित ४५ रन जोडे ।
यसअघि ओपनरहरु सुनील धमला र अमित श्रेष्ठले क्रमसः ३६ र ३० रन जोडेर आउट भएका थिए । त्यस्तै दिलिप नाथले पनि २४ रनको पारी खेले ।
बलिङतर्फ प्रदेश ५ का सन्दिप सुनारले २ तथा लाल अधिकारीले १ विकेट लिए । दिपेन्द्र सिंह ऐरी खेलको म्याच अफ द म्याच चुनिए ।

समाचार / गतिबिधि View All

Upcoming Events View All