प्रेस विज्ञप्ति

काठमाडौं, साउन १९ गते ।

नेदरल्यान्ड्समा भएको दुई अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट शृंखलाको दोश्रो खेलमा नेदरल्यान्ड् विरुद्ध जित हात पारेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मेरो व्यक्तिगत र राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट हार्दिक बधाइ दिन चाहन्छु ।

अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेको २२ वर्षपछि गत मार्चमा जिम्बावेमा भएको आईसीसी विश्व कप छनोट प्रतियोगितामा एसोसिएट राष्ट्रहरु मध्ये उत्कृष्ट तीनमा रहँदै एक दिवसीय मान्यता पाएको नेपालले आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय शृंखलाको दोश्रो खेलमा जित दर्ता गर्नु सारा नेपाली र सिंगो राष्ट्रका निम्ति गौरवको विषय बनेको छ । यो सफलतासँगै हाम्रा खेलाडीले खेलकुद क्षेत्र राष्ट्रको गौरव बढाउने ससक्त माध्यम हो भन्ने कुरा फेरि एकपटक प्रमाणित गरेर देखाएका छन् । यसका लागि खेलाडीसँगै नेपाली टोलीका प्रत्येक सदस्य धन्यवादका पात्र हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको कठिन अवस्थामा पनि खेलाडीको हौसला मर्न नदिई घरभित्र क्रिकेटको वातावरण जीवन्त राख्ने समर्थक, शुभचिन्तक र सञ्चारकर्मीहरु पनि यो बधाईको उत्तिकै हकदार हुन् भन्ने हाम्रो ठम्याई छ ।

यसैगरी हाम्रा खेलाडीलाई ब्यस्त बनाइराख्न निरन्तर साना÷ठूला प्रतियोगिताहरु आयोजना र प्रायोजन गरेर उत्साह थप्ने विभिन्न संघ÷संस्था, कर्पोरेट हाउस, औद्योगिक घराना र ब्यापारिक प्रतिष्ठान पनि धन्यवाद र बधाइका पात्र हुन् । हाम्रा खेलाडीले हासिल गरेको महत्वपूर्ण उपलब्धिलाई गुम्न नदिन र नेपाली क्रिकेटलाई यो भन्दा पनि अझ ठूला उपलब्धि हासिल गर्ने दिशामा अगाडि बढाउन परिषद्ले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्न चाहन्छु ।

धन्यावद ।

(केशवकुमार विष्ट)

सदस्य–सचिव

राष्ट्रिय खेलकुद परिषद्

 


समाचार / गतिबिधि View All

Upcoming Events View All