वर्षाले रद्द भएपछि पूर्वाञ्चल फाइनलमा

सुदुरपश्चिमाञ्चलविरुद्धको खेल वर्षाले रद्द भएपछि पूर्वाञ्चल सोमबार महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
यद्यपि वर्षाले खेल रोकिनुअघि पूर्वाञ्चल निश्चित् जितर्फ अग्रसर थियो । टस जितेपछि पहिले फिल्डिङ गरेको पूर्वाञ्चलले सुदुरपश्चिमाञ्चलको छ विकेट ७.२ ओभरमा सात रनमै निकालि सकेको थियो । कविता गौतमले तीन तथा सन्तोषी चौधरीले दुई विकेट लिएका थिए ।
वर्षाले त्यसपछि खेल हुन सकेन र दुवै टिमलाई एक–एक अङ्क प्रदान गरियो । दुवै टिमले पहिलो खेलमा जित हासिल गरेकोले पूर्वाञ्चल र सुदुरपश्चिमाञ्चल तीन–तीन अङ्कमा रहे । त्यसपछि राम्रो रन औसतको आधारमा पूर्वाञ्चल समूह बीबाट फाइनलमा पुगेको हो । पूर्वाञ्चलले मङ्गलबार सशस्त्र प्रहरी बलको एपीएफविरुद्ध उपाधि भिडन्त गर्नेछ ।
यसअघि, पहिलो खेलमा मध्यपश्चिमाञ्चलले मध्यमाञ्चललाई पाँच विकेटले हराएको थियो । मध्यपश्चिम र मध्यमाञ्चलबीचको अर्थहिन खेल वर्षाकै कारण प्रति पालि दस ओभरमा कटौती गरिएको थियो ।
पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारीत दस ओभरमा चार विकेटको क्षतिमा ५७ रन बनायो । मध्यमाञ्चलका लागि रना अर्यालले अविजित रही सर्वाधिक २२ रन बनाईन् । सीता श्रेष्ठले पनि १२ रनको उपयोगी पालि खेलिन । नेपालकी पूर्व कप्तान नेरी थापा मगरले सो पालिमा दुई विकेट लिएकी थिईन् । यस्तै गीता गोसाइले एक विकेट हात पारिन् ।
मध्यपश्चिमाञ्चलले अन्तिम बलमा पाँच विकेटको क्षतिमा ६० रन बनाई लक्ष्य हात पार्यो । प्रारम्भिक ब्याट्सवुमन लक्ष्मी चौधरीले ३३ बलमा चार चौकासहित अविजित ३९ रन बनाएर मध्यपश्चिमलाई जित दिलाइन् । नेरीले पनि १० रनको उपयोगी पालि खेलिन् । मध्यमाञ्चलका लागि अस्मिना कर्माचार्य, सीता, शोभा आले र गीता चुडालले एक–एक विकेट लिएका थिए । लक्ष्मी सर्वश्रेष्ठ खेलाडी घोषित भईन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *