आठौंका पूर्वाधार निर्माण अन्तिम चरणमा

बाँके, १३ चैत । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि चाहिने आवश्यक भौतिक पूर्वाधारको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । चैत्र २५ गतेसम्म सम्पूर्ण पूर्वाधारको काम सकिने मध्यपश्चिम खेलकुद विकास समिति प्रदेश नम्बर ५ का अध्यक्ष भिम वलीले जानकारी दिए । अध्यक्ष वलीले खेल प्रतियोगिता आयोजना हुने स्थानको सत् प्रतिशत पूर्वाधार निर्माण भैसकेको बताए ।

भिआइपी प्याराफिटको मात्रै निर्माण कार्य पूरा भएको छैन, यसमा पनि प्याराफिट ठडाउने काम मात्र बाँकि रहेकाले ८० प्रतिशत काम सम्पन्न भैसकेको र अब १० दिन भित्रै उक्त कार्य पनि सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जनाए ।

खेल मैदान निर्माण भैरहेको स्थानमा भेटिएका सदस्य सचिव विष्टले भने– ‘पछिल्लो प्रगति देखेर हामी निकै हौसिएका छौं, यही चैत्रमै प्रतियोगिता गर्न अब पूर्वाधार निर्माण नभए रोकिने छैन, यसमा सबैले साथ दिन जरुरी छ ।’ चैत्र २७ गते आयोजना गर्ने गरी तयारी वृहत् रुपमा भैरहेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

बाँके, बर्दियामा आयोजना हुने स्थानहरुमा स्थानीय तहहरु आठौँ राष्ट्रिय खेलकुदका लागि सरसफाई तथा स्वागतद्वार बनाउने र रङ्गरोगन गर्नतिर लागिसकेका छन् । स्थानीय तहसँग समन्वय गरी विभिन्न उप समितिहरु पनि निर्माण गर्ने काम भैरहेको छ । नेपालगञ्जका स्थानीयहरुमा उल्लासपूर्ण अवस्था रहेकाले सबैले २०७५ भित्र नै प्रतियोगिता आयोजना होस् भन्ने चाहेका मध्यपश्चिम खेलकुद विकास प्रदेश नम्बर ५ का उपाध्यक्ष नरेन्द्र थापाले बताए ।

नेपालगञ्जमा मात्रै आठौंले गर्दा एक अर्वको लगानीमा भौतिक संरचना निर्माण भएको बताउँदै राखेप सदस्य सचिव विष्टले नेपालगञ्जको इतिहासमै यति ठूलो लगानीमा पहिलो पटक प्रतियोगिता हुन लागेको प्रतिक्रिया दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *