भारोत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण, तुलारामद्वारा राष्ट्रिय कीर्तिमान

नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण जितेको छ ।
पोखरा उद्योग वाणिज्य संघमा आइतबारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाएकी हुन् ।
उनले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् ।
त्यस्तै, एपिएफकी लीला राईले रजत र मधेश प्रदेशकी अम्बिकाकुमारी यादवले कास्य जितिन् ।
एपिएफकी लीलाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी र अम्बिकाले स्न्याचतर्फ ३५ र क्लीन एण्ड जर्कमा ४० गरी कुल ७५ केजी भार बहन गरेकी थिइन । सो तौल समूहमा ७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी १०÷१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा २० स्वर्ण, २० रजत र २० कास्य पदकका लागि खेल हुने छन् ।
त्यसअघि प्रतियोगिता उद्घाटन गर्दै राखेप सदस्य सचिव टंकमान घिसिङले भारोत्तोलन अन्तर्राष्ट्रिय पदक दिलाउने खेल भएकोले खेलाडीलाई सोही अनुरुप मेहनत गर्न आग्रह गरे । उनले यहाँ उत्कृष्ट नतिजा दिने खेलाडी सन् २०२३ मा चीनमा हुने १९ औं एशियाली खेलकुदको लागि राष्ट्रिय टिममा अनुबन्ध हुने बताए ।

तुलाराम महतोद्वारा राष्ट्रिय कीर्तिमान
नेपाली सेनाका तुलाराम महतोद्वारा नवौं राष्ट्रिय खेलकुद अन्तरगत भएको भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् । प्रशिक्षक संजय महर्जनका अनुसार महतोले ५५ केजीको क्लिन एण्ड जर्कमा १०२ केजी र कुलमा १८९ केजी गरि दुइ कीर्तिमान बनाउन सफल भएका हुन् । उनले स्न्याचमा भने ८७ केजी भार बहन गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया