सेपाकताक्रो टोलीको बिदाइ

भियतनामको दानाङमा हुने पाँचौं एसियाली बिच गेम्सअन्तर्गत सेपाकताक्रोमा सहभागी हुने नेपाली टोलीलाई मंगलबार बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी एक कार्यक्रमबीच बिदाइ गरे ।
सेप्टेम्बर २४ देखि २९ तारिखसम्म हुने गेम्समा अनिल गुरुङको कप्तानीमा अनिल जर्घा मगर, एलेन गुरुङ, रुपेश सुनार र सुजन डंगोलले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीले रेगु र ट्रियो स्पर्धामा भाग लिने छन् ।
भियतनामअघि टोली बुधबार तालिमका लागि थाइल्यान्डको बैंकक जानेछ । एक साताको तयारी प्रशिक्षणपछि सेप्टेम्बर २३ तारिखमा टोली थाइल्यान्डबाट भियतनामका लागि उड्नेछ ।
टिम व्यवस्थापकमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ र प्रशिक्षकमा रामबहादुर थापा रहेका छन् । उनीहरु सेप्टेम्बर २२ मा सीधै भियतनाम जाँदैछन् ।
भियतनामको गेम्सपछि टोली बैंककमै अक्टोबर १७ देखि २४ तारिखसम्म हुने ३१ औं किङ्स कप वल्र्ड टुर्नामेन्टमा सहभागी हुनेछ । किङ्स कपमा भियतनामका ५ सहित ९ खेलाडी सहभागी हुने छन् । थप खेलाडीहरुमा रोशन तामाङ, सैलेश दाहाल, राजु तामाङ र मुकुन्द गौतम रहेका छन् । टोलीले डबल इभेन्ट, रेगु र टिम रेगुमा प्रतिस्पर्धा गर्नेछन् । यो टोलीको प्रशिक्षकको जिम्मेवारी गंगाबहादुर गुरुङले सम्हाल्ने छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया