जुडो टोलीको बिदाइ

काठमाडौं, असार ३१ गते ।
थाइल्यान्डको बैंककमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक हिमालराज दाहालले ४ खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे । सदस्य–सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ प्रदर्शन गर्न खेलाडीको हौसल अभिबृद्धि गरे ।
क्याडेटमा २ र जुनियरमा २ गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । क्याडेट÷जुनियरमा १–१ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
जुनियरको पुरुष ६० केजीमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ सहभागी हुने छन् । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले खेल्ने छन् । घरेलु प्रतियोगितामा चारै खेलाडीले बन्दी सहायता नियोग (पाम) को प्रतिनिधित्व गर्छन् । देवकी र निशा सहोदर दिदीबहिनी हुन् ।
टोली प्रमुखमा नेपाल जुडो संघका अध्यक्ष समेत रहेका जुडो युनियन अफ एसिया (जेयुए) का एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य दीपकहर्ष वज्राचार्य रहेका छन् । टिम व्यवस्थापकमा दावा ग्याल्जेन शेर्पा तथा प्रशिक्षकमा दीपक श्रेष्ठ छन् । जुडो संघका खेलकुद निर्देशक सुप्रसिद्द ताम्राकार पनि टोलीसंग बैंकक जाने छन् । साउन १ देखि ७ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली शुक्रबारै थाइल्यान्ड प्रस्थान गर्दैछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया