फेन्सिङ इजिप्ट जाँदै

विश्व फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली बुधबार इजिप्टको काइरो प्रस्थान गर्दै छ ।
जुलाई ९ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा ५ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा खेलाडीमा पायस योञ्जन, दिनेशबहादुर पाण्डेय, राजेन्द्र गजुरेल, सुकीराम तामाङ र भीष्मराज दाहाल रहेका छन् । महिलामा अनिता कार्की, जानुका स्याङतान र उषा खड्का छन् । पायस, दिनेश र राजेन्द्रले साब्रेमा प्रतिस्पर्धा गर्ने छन् । बाँकीले इपीमा खेल्ने छन् । सबैले व्यक्तिगत र टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । विशेष प्रशिक्षणमा सहभागी हुन पायस भने मंगलबारै इजिप्ट प्रस्थान गरिसकेका छन् ।
टोली प्रमुखमा हेल्गा राणा रायमाझी, अफिसियलमा सुजनलाल श्रेष्ठ र प्रशिक्षकमा अभिषेक कार्की रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया